हामीलाई ‘गरी खान देऊ’ भन्दै कवाडी व्यवसायीको विरोध प्रदर्शन !
डाफेँ खबर, काठमाडौं।
काठमाडौं महानगरपालिकाको कवाडी हटाउने निर्णयविरुद्ध कवाडी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आइतबार ‘गरी खान देऊ’ भन्दै विरोध प्रदर्शन गरेका छन् । महानगरपालिकाको मातहतमा रहेका वडा कार्यालयहरुले कवाडी हटाउने आदेश भन्दै कवाडी व्यवसायीलाई ७ देखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक पत्र पठाएपछि व्यवसायी आन्दोलित बनेका हुन् । उनीहरुले बुद्धनगरमा जम्मा भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनमार्गसम्म विरोध र्याली निकाले । उनीहरुले न्युन आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै निर्णय फिर्ता लिन महानगरपालिकासँग आग्रह गरेका छन् ।
सरकारले सरसफाईका लागि लगानी गर्नुको साटो कवाड पेशाकर्मी तथा व्यवसायीले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत विस्थापित बनाउन खोजिएकोप्रति आक्रोश व्यक्त गरे । कवाडी समुदायको जुलुस प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत भएको थियो । संविधान, श्रम तथा रोजगारीको हक अधिकार, मानव अधिकार लगायत मूल्य र मान्यता विपरीत उचित व्यवस्थापन बिना महानगरले कवाडी हटाउने निर्णय गरेकोमा सो निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने उनीहरुले चेतावनी दिए । आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय कवाडी व्यापारी व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले आइतबारको र्याली काठमाडौं महानगरपालिकाले व्यवसायलाई राज्यको कानून विपरीत दमनकारी कार्यक्रम ल्याएकाले आन्दोलन गर्नुपरेको बताए । महानगरले कवाडी पेशालाई अध्ययन नै नगरी गलत ढंगले व्याख्या गरी व्यवसायीलाई लखेटेको उनको भनाइ छ ।उनले यथाशीघ्र संवाद गरी व्यवसाय व्यवस्थित नगरे आन्दोलन झनै सशक्त रुपमा अघि बढाउने चेतावनी समेत दिए।
आन्दोलनमा सहभागी सञ्जय साहले महानगर प्रमुख बालेन्द्र साहले कवाडी व्यवसायीलाई तल्लो वर्गको सोचेर भेट्न नमानेको भन्दै महानगरपालिकालाई लाखौँ युवाको रोजगारी खोस्ने अधिकार नरहेको जिकिर गरे । आन्दोलनमा सहभागीहरुले अदालतको निर्णयको सम्मान गरौँ, अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गरौँ । कवाडमाथि डोजर चलाउने कार्य बन्द गर, कानूनी शासन लागू गर, कवाडी एकता जिन्दावाद लगायतका प्लेकार्ड र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।