समाचार

माओवादीकै उपाध्यक्षले भनिन्: नयाँ गठबन्धन शुद्ध छैन

२५ फागुन, डाँफे खबर-काठमाडौ

नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् । 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् । उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् । ‘जनतालाई अलि बढी राहत हुनेगरी काम गरौं । त्यही ढंगले बजेट निर्माण गरौं । आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरु थप्दै जाउँ । आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔं भन्दाखेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौं भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि ! कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ । यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ,’ उनले भनिन् ।  

उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको पनि प्रस्ट पारिन् । उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहींका दल र नेताहरुले बनाएका बताइन् । उनले भनिन्, ‘गठबन्धनलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बन्यो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि  ल्याएको छ । तर होइन । यो नितान्त यहींका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुनर्गठन हो ।’

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यही गठबन्धनमा बसिरहने कुरा नहुने धारणा राखिन् । 

उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातीय भएको पनि बताइन् । उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने विश्वास व्यक्त गरिन् । उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् । 

उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताइन् । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्नेमा जोड दिइन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button