हमासद्वारा मारिएका १० नेपालीका परिवारलाई इजरायलले आजीवन भत्ता दिने
२ चैत, डाँफे खबर।
इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ ।
विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारको निर्णय छ ।नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने प्रष्ट पारे ।
‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रुपमा आउँदा नेपालीहरुको मृत्यु भएको हो,’ उनले भने, ‘त्यसैले इजरायलको सरकारले १० जनाको परिवार र अहिले विद्रोही हमासको कब्जामा रहेको विपिन जोशीको परिवारलाई भत्ता दिन थालिसकेको छ ।’
विद्रोही हमासको आक्रमणद्वारा इजरायलमा कृषि पढ्न गएका विद्यार्थीहरुको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह रहेका छन् ।
यस्तै, मधुवन-१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् । उनीहरुको परिवारले आजीवन भत्ता पाउने छन् ।