Headline

पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष महरालाई पक्रेेर सीआईबी लगियो

डाँफे खबर, काठमाडौं ।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालय ल्याइएको छ ।

सीआईबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने सीआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । उनका अनुसार महराविरुद्ध मुद्दा उठाएर थुनाका लागि म्याद थप्न सरकारी वकिल कार्यालयमा लगिने छ ।

सोमबार महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै आएका महरालाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो । उनलाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री लामिछानेले प्रहरीको सीआईबीलाई निर्देशन दिएका हुन्।

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल नतिजा आउने कारबाही गर्न लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन् ।

साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।

उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो ।

पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button