आरोप लाग्यो कि राजिनामा दिने सर्वदलीय सहमति गर्न तयार: गृहमन्त्री लामिछाने
डाँफे खबर, काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । आफूविरुद्ध ठाडो उजुरी परेको जिकिर गर्दै लामिछानेले त्यस्तो उजुरीका भरमा राजीनामा दिने हो भने सर्वदलीय सहमति गर्नुपर्ने बताए ।
उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने बताएका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद् बैठक अवरुद्ध पारिरहेका बेला उनले भने मंगलबार संघीय संसद् भवनमा उजुरी पर्दैमा छानबिन गर्ने कुरा संसदीय मूल्य, मान्यताभित्र नपर्ने जिकिर गरे । कांग्रेसले संसदीय मर्यादाको ख्याल गर्नुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो । जस्तो विषयमा पनि संसदीय छानबिन समिति गठन गर्दा संसद्को गरिमामा आँच आउने उनको तर्क थियो ।
‘कसैले गरेको ठाडो उजुरीको आधारमा, सूचना दिएको आधारमा समिति बनाउनुपर्ने गरी हाम्रो संसदीय मर्यादा त्यति तल झरिसकेको छ र ? यो संसद्को पनि गरिमा छ, यसको महत्व छ, यसको बेग्लै पहिचान छ, यसको इतिहास छ, यसको गौरव छ,’ लामिछानेले भने, ‘यसको गौरवको रक्षा गर्नका लागि दोबाटोमा उठेका हरेक कुराहरूको समिति बनाउने हो भने हुन्छ गरौं । हामीले त भनेका छौं नि प्रश्न उठने बित्तिकै, कसैले ठाडो जाहेरी, सूचना, निवेदन दिने बित्तिकै तुरुन्तै सांसदले राजीनामा दिउँ, मन्त्रीले राजीनामा दिउँ, संसदीय समिति बनाउ । हामीले हुन्छ भनिसक्यौं, नाइँ भनेका छैनौं ।’
कांग्रेसले सहकारीको समस्या भन्दा पनि व्यक्तिकेन्द्रित भएर संसद् अवरुद्ध गरिरहेको लामिछानेको भनाइ थियो । उनले भने, ‘तर, व्यक्तिमा मात्रै केन्द्रित रहने हो भने हामी आएर बनेको हो र ? प्रहरीको अनुसन्धान उहाँहरु सरकारमा भएको बेला भएको होइन र ? त्यो अनुसन्धान गर्ने अधिकारीहरू त्यहीँ हुनुहुन्न होला र ? एउटै कुरा सय चोटी भन्दैमा त्यो सय वटा कुरा होइन, एउटै कुरा हो । त्यसकारण यो संसद्को गरिमा छ । आरोप लाग्यो कि राजीनामा दिने सर्वदलीय सहमति गरौं ।’
कांग्रेसले निरन्तर संसद् अवरुद्ध गरिरहेको पनि लामिछानेको भनाइ थियो । कांग्रेसले संसद् अवरोध गरेको एक दिन थप भएको उनले बताए । ‘यो त संसद्मा भइरहने कुरा हो, कांग्रेसले निरन्तर गरेको चिज हो, आज अर्को दिन न हो यो । त्यसकारण यसलाई थप केही लिएको छैन,’ उनले भने ।
लामिछानेले २०४७ सालभन्दा पछिका घटनाको स्वतन्त्र रुपमा एउटा बृहत् छानबिन समिति गठन गर्नुपर्ने बताए । ‘२०४७ सालदेखि आजसम्मका सम्पूर्ण कुराहरूको छानबिन गरौं । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि हामीले भनेका छौं, कुनै पनि कालखण्डका भ्रष्टाचारको छानबिन गर्नुपर्छ,’ उनले भने, ‘अस्ति राजीनामा दिनुभएको हो र ? झन्डा हल्लाएर अख्तियारमा बयान दिन जानु भएको हो । राजीनामा दिए जस्तो त मलाई लागेन । सबै किसिमका नजिरहरू छन् । सबै किसिमका अभ्यास छन् ।’