आजदेखि ठमेल र दरबारमार्ग चौबीसै घन्टा खुल्ने: गृहमन्त्री लामिछाने
डाँफे खबर, काठमाडौं ।
राजधानी काठमाडौंका मुख्य दुई पर्यटकीय चहलपहल हुने क्षेत्र ठमेल र दरबारमार्ग शनिबारदेखि पूर्णकालीन समय खुल्ने (२४ सैं घण्टा) भएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको शनिबार घोषणा गरेका हुन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा ठमेलमा आयोजित कार्यक्रममा लामिछानेले ठमेल र दरबारमार्ग पूर्णकालीन खुल्ने कुराले काठमाडौं चलयामान सहर बनोस् भन्ने आफ्नो चाहना भएको बताए ।
उनले यो सुरुवात भएको र निरन्तरता दिनका लागि सबैको सहयोग आवश्यक पर्ने बताए । ‘यो ऐतिहासिक सुरुवात भएको यसले सकारात्मक सन्देश दिन्छ । काठमाडौं चलायमान सहर बनोस् भनेर यसको सुरुवात दुई ठाउँबाट गरिएको हो । यहाँको अनुभवका आधारमा अन्य ठाउँ पनि खुल्ला गर्दै जाने हो,’ उनले भने ।
ठमेल र दरबारमार्गका बजार पूर्णकालीन समय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मापदण्ड, आचारसंहिता र सुरक्षा योजना जारी गरेको छ । मापदण्ड र आचारसंहिताले ठमेल र दरबारमार्ग क्षेत्रलाई अझ राम्रो र पर्यटकमैत्री बनाउने गृहमन्त्रीको भनाइ थियो । उनले व्यवसायी तथा घरघनीको पनि हित हुने बताइएको छ ।
सुरक्षा व्यवस्थाको प्रत्याभूति सरकारको तर्फबाट गरिने गृहमन्त्री लामिछानेले बताए । ‘यहाँका व्यवसायी, कर्मचारी, पर्यटक सबैलाई सुरक्षाको पूर्ण प्रत्याभूति गरिन्छ तर, सफल बनाउने हामी सबैको दायित्व छ। त्यसमा ध्यान दिऔँ,’ उनले भनेका थिए, ‘संसारभर परिचित ठमेलको पहिचान थप स्थापित गर्न पनि यो अभियान सुरु गरेका हौं ।’
गृहमन्त्रीले स्थानीयका जायज चासोको सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए । उनले विकृति विसंगति अन्त्यका लागि सामूहिक प्रयास हुनुपर्ने पनि बताए । उनले नयाँ राजनीतिक दलको नेताका रूपमा सरकारमा गएकाले राम्रो काम गर्ने र नराम्रो नगर्ने प्रतिबद्धता पनि जनाए ।