विश्वकै उच्च शिखर सगरमाथा क्षेत्र ‘डम्पिङ साइट’मा परिणत हुँदैछ: गौतम
डाँफे खबर, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले खुम्बु र सगरमाथा क्षेत्रमा फोहोर व्यापक भइरहेको भन्दै त्यसलाई संरक्षणका लागि सचेत बन्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद गौतमले नेपालको हिमाल जोगाउन र पर्यटन क्षेत्रलाई दिगो बनाइ राख्नका लागि सगरमाथा क्षेत्रको फोहोर हटाउनुपर्ने बताएकी हुन् ।
‘सगरमाथा क्षेत्र, खुम्बु क्षेत्र हामी सबै जनाको साझा सम्पत्ति र कतिपय समुदायको लागि भगवानको वासस्थान पनि हो । तर, बर्सेनि भित्रिने लगभग ६० हजार आसपासका पर्यटकका कारण खुम्बु, सगरमाथा क्षेत्र उच्च स्थानमा रहेको डम्पिङ साइटमा परिणत भइरहेको छ,’ उनले भनिन् ।
हिमाल आरोहण गर्दा प्रयोग गरिने जुत्ता, कपडा, खानेकुरा, डोरी, मलमूत्रलगायतका कारणले फोहोर बढिरहेको सांसद गौतमको भनाइ थियो । बेसक्याम्प र हिमाल आरोहण गर्दै गर्दा मरेका मानिसहरूको शव नहटाउँदा पनि ‘हिमालय क्षेत्र ठूलो डम्पिङ क्षेत्रको रूपमा परिणत’ भइरहेको उनको भनाइ थियो । सगरमाथा बेसक्याम्पमा हिउँ र पानीको परीक्षण गर्दा माइक्रो प्लास्टिक पाइएको कुरा पनि सांसद गौतमले उल्लेख गरिन् । सगरमाथा र खुम्बु क्षेत्रको पानी र हिउँमा ‘फरएभर केमिकल’ भेटिएको पनि उनको भनाइ थियो । हिमाली क्षेत्रमा भइरहेको यो क्षति ‘मानव अस्तित्वका लागि खतराको विषय’ भएको उनले बताइन् ।
नेपालको अर्थतन्त्रमा लगभग ७ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्र हिमश्रृंखलामा आधारित रहेको बताउँदै सांसद गौतमले सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनमा लाग्नुपर्ने बताइन् ।