काठमाडौं महानगरकी उप-मेयर सुनिताद्वारा फल्चा बिसौनी उद्घाटन
डाँफे खबर, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुलपारि फल्चा शैलीको बस बिसौनी सञ्चालन गरेको छ ।
महानगरले अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी सञ्चालनमा ल्याएको हो । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शनिबार एक कार्यक्रमकाबीच फल्चाको उद्घाटन गरेसँगै बस बिसौनी सञ्चालनमा आएको हो ।
उपप्रमुख डंगोलले काठमाडौंको पहिचान मुख्य सडकबाट हुने भएकाले नेवा शैलीका स्मारक निर्माण बनाइएको बताइन् ।
‘यी संरचनाहरू काठमाडौको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौंको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ,’ उनले भनिन् ।
महानगरले यसअघि जेठ १ गतेदेखि सडकको अर्को किनारमा फल्चा सञ्चालनमा ल्याइसकेको छ । यी दुई फल्चा निर्माण गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको वडा नम्बर १० का सदस्य एवं निर्माण संयोजक सतीश तण्डुकारले बताए ।
यसैगरी सोही वडा अध्यक्ष रामकुमार केसीले कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको जानकारी दिए । यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि दुई वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले बताए ।