Breaking Newsजिवन संघर्सबिशेषमुख्यसमाचारसमाज

माइती पक्षले दाइजोका कारण दाबी गर्दै महिलाको रहस्यमय मृत्युपछि स्थानीय समाजमा तनाव र आक्रोश

प्रेमचन्द्र झा, रौतहट ।

जिल्लाको कटहरिया नगरपालिकामा एक नव-विवाहित मुस्लिम महिलाको रहस्यमय र पीडादायक मृत्युपछि स्थानीय समाजमा तनाव र आक्रोश फैलिएको छ। कटहरिया नगरपालिका–५ स्थित बजार क्षेत्र निवासी अरमान राय भाटकी पत्नी २१ वर्षीया सानिया प्रविन आइतवार दिउँसो आफ्नै घरको कोठामा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। यो घटनाले शंका उब्जाएको छ भने माइती पक्षले यसलाई “योजनाबद्ध हत्या”को संज्ञा दिएको छ।

घटना सार्वजनिक भएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र गरुडाबाट संयुक्त टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धानका लागि मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो। पोष्टमार्टमपश्चात शव मृतककी आमा कायमा खातुनले बुझेर भारतको बिहार, पूर्वी चम्पारण जिल्ला अन्तर्गत सुगौली लगेको प्रहरीले जनाएको छ।

सानियाको विवाह मात्र ६ महिनाअघि अरमान राय भाटसँग मुस्लिम धार्मिक विधिअनुसार सम्पन्न भएको थियो । तर, उनका परिवारजनका अनुसार विवाहपश्चात सानिया निरन्तर दाइजोको दबाव, मानसिक तनाव र शारीरिक यातनामा परिन्। मृतककी आमा कायमा खातुनले बताइन्, “मेरी छोरीलाई बारम्बार मोटरसाइकल, पैसा लगायतका दाइजोका सामानको माग गर्दै यातना दिइन्थ्यो। उसले कहिल्यै सुख पाइन। अन्ततः यिनीहरूले योजनाबद्ध रूपमा उसको हत्या गरेर आत्महत्या जस्तो देखाउन खोजे।”

माइती पक्षले सानियाको ज्यान लिइएको दाबी गर्दै यस विषयमा गम्भीर छानबिनको माग गरेका छन्। सानियाका आफन्त र स्थानीयले आरोपी अरमान राय भाट र उनका परिवारका सदस्यहरूलाई तुरुन्त पक्राउ गरी कानुनी कठघरामा ल्याउन माग गरेका छन्। यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले भने, “अहिलेसम्म मृतक पक्षबाट जाहेरी दर्ता भइसकेको छैन। तर, घटना शंकास्पद छ। हामी प्रमाणको आधारमा अनुसन्धान गरिरहेका छौँ। पोस्टमार्टम रिपोर्ट, प्रत्यक्षदर्शीका बयान र अन्य प्रमाणहरूको विश्लेषणपछि मात्र निष्कर्षमा पुग्न सकिनेछ।”

प्रहरीका अनुसार हाल मृतकको पति अरमान राय भाटसहित परिवारका सदस्यहरूमाथि निगरानी गरिएको छ। घटनास्थलमा भेटिएका वस्तुहरू जस्तै; साडी, सिलिङ फ्यान र कोठाको अवस्था जाँच हुँदैछ। प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि परिवारले दिएको बयान र पूर्ववृत्तान्तले गहिरो अनुसन्धान आवश्यक बनाएको प्रहरी स्रोत बताउँछ।

यस घटनाले स्थानीय तहमा फेरि एकपटक दाइजो प्रथाको क्रूर स्वरूप र महिलामाथिको हिंसाको बहसलाई चर्काएको छ। अधिकारकर्मीहरू भन्छन् “सानियाको ज्यान लिएको यदि प्रमाणित भयो भने, यो केवल एक परिवारको पीडा होइन, सम्पूर्ण समाजको लज्जा हो।”

कटहरिया नगरपालिका–३ बड़ेरवा टोलकी बसोबास गर्ने सानियाको मृत्युपछि महिलाहरूको सुरक्षाको विषयमा गम्भीर प्रश्न उठेको छ। स्थानीय महिला समूह र नागरिक समाजका अगुवाहरूले पनि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कठोर कारबाहीको माग गरेका छन्।

अहिलेसम्म अरमान र उनका परिवारलाई प्रहरीले पक्राउ गरिसकेको छैन। तर, चाँडै कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाइ छ।

सानियाको मृत्यु केवल एउटा घटनामात्र होइन, यसले दाइजो प्रथा, पितृसत्तात्मक सोच र कानुनी प्रणालीप्रतिको जनविश्वासको परीक्षा पनि हो। विशेषगरी मधेस क्षेत्रका मुस्लिम समुदायहरूमा अझै दाइजोप्रथा गहिरो रूपमा जरो गाडेर बसेको छ। विवाहका बेला मोटरसाइकल, नगद, गहना, घरेलु सामानजस्ता वस्तुको माग गरिन्छ। तिनीहरूको पूर्ति नभएमा नवविवाहिता महिलाहरू घरेलु हिंसाको सिकार बन्ने गर्छन्।

यदि सानियाको मृत्यु पछाडि साँच्चै दाइजो सम्बन्धी कारण छ भने यो घटना राज्यका लागि ठूलो चेतावनी हो—जहाँ महिलाहरू अझै सुरक्षित छैनन्, विवाह अझै व्यापारझैँ चलिरहेको छ, र मृत्युहरूलाई आत्महत्या बनाई ढाकछोप गर्ने प्रवृत्ति कायमै छ।

सानिया प्रविनको रहस्यमय मृत्युले फेरि एकपटक हाम्रो समाजमा व्याप्त लैंगिक असमानता, दाइजोको भूत र कानुनी ढिलासुस्तीप्रति प्रश्न उठाएको छ। प्रहरी, प्रशासन र न्यायिक संयन्त्रले निष्पक्ष छानबिन र कडा कारबाहीमार्फत पीडित पक्षलाई न्याय दिलाउनु जरुरी छ। साथसाथै, दाइजोप्रथाको अन्त्यका लागि सामाजिक चेतना अभिवृद्धि र कानुनी कडाइ पनि अपरिहार्य देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button