लागूऔषध तथा षड्यन्त्र अपराध मुद्दामा पत्रकार संजय सहनी लगायत प्रहरी लाई कैद र जरिवाना

डाँफे खबर, रौतहट ।
रौतहट जिल्ला अदालत गौरले लागूऔषध मुद्दामा नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष संजय सहनी, नेपाल प्रहरी सहित पाँच जनालाई कैद र जरिवाना गर्ने फैसला गरेको छ।
लागूऔषध तथा आपराधिक षड्यन्त्र मुद्दामा जिल्ला अदालत गौरले आज पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष एवं पत्रकार संजय कुमार सहनीलाई तीन वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
त्यस्तै, सोही मुद्दामा सहनी सँगै रौतहटका माधव नारायण नपा वडा नं. १ दिपही बस्ने अर्का पत्रकार धिरज कुमार यादवलाई पनि तीन वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने सो घटनामा संलग्न सर्लाहीको रामनगर गापा बस्ने जितेश यादव, नेपाल प्रहरीका जवान मनोज साह र प्र.स.नि.(असई) उदय प्रसाद यादवलाई २/२ वर्ष कैद र १/१ लाख रुपैयाँ जरिवाना तिराउने फैसला भएको छ।
केही वर्ष अघि मात्र पत्रकार सहनी सहित पाँचै जनामाथि रौतहटका पत्रकार मोहमद मोजीबुल्लाहले लागूऔषध र आपराधिक षड्यन्त्र गरेको कसुरमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको आज सुनुवाई गर्दै जिल्ला अदालत रौतहटका न्यायाधीश दुर्गा प्रसाद भट्टराईको इजलासले पत्रकार संजय सहनी सहित पाँचै जनालाई कैद र जरिवाना गर्ने फैसला गरेको हो।
आजभन्दा चार वर्ष अघि गौर नगरपालिकाको टिकुलिया घर भएका पत्रकार सहनीले आफ्ना व्यक्तिगत रिसिबी साध्न पत्रकार मोजीबुल्लाहलाई लागूऔषध काण्डमा फसाउने षड्यन्त्र गरेका थिए । सहनीको योजनामा मोजीबुलालाई फसाउने षड्यन्त्र गरिए पनि सिसीटिभी फुटेज बाहिरिएपछि मोजीबुला उक्त मुद्दाबाट जोगिएका थिए । पत्रकार सहनीको निर्देशनमा बाँकी ती चार अभियुक्त मोजिबुलालाई गौरको एक होटलमा खाजा खान बोलाएर मोजिबुलाको मोटरसाइकलमा लागू औषध नाइट्रोभेट ट्याब्लेट राखिदिएका थिए । तर सिसीटिभि फुटेज बाहिरिएपछि मोजिबुला निर्दोष सावित भएका थिए भने सहनी सहित यी पाँचै जना दोषी रहेको पुष्टि भएको थियो।
यो घटनामा रौतहटका तत्कालीन प्रहरी उपरीक्षक(एसपी) सिद्धि बिक्रम शाहको समेत संलग्नता रहेको तथ्य बाहिरिएको थियो ।