रौतहटको परोहा न.पा. मा मनी ट्रान्सफर संचालकमाथि गोली प्रहार

२ चैत, डाँफे खबर, काठमाडौं ।
रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं. ९ मा शुक्रबार दिउँसो गोली प्रहार भएको छ । गोली प्रहारको घटनामा सुरक्षाकर्मीले थप एकथान चिनियाँ पेस्तोल बरामद गरेको छ ।
जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले घटनास्थलबाट झण्डै ३ किलोमिटर पर थप अर्को चाईनिज पेस्तोल र गोली बरामद भएको जानकारी दिइन् । प्रहरीले साँझसम्म उक्त स्थानमा सर्च अप्रेसन गरेको थियो । मोटरसाइकल चढी आएका ३ भारतीयले परोहामा शिव मनी ट्रान्सफर चलाएर बसेका २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गरेको थियो ।
गोली लागि घाइते साहको वीरगन्जमा उपचार भइरहेको छ । उनको टाउकोमा गोली लागेको प्रहरीले जनायो ।घटनालगत्तै स्थानीयको सहयोगमा सुरक्षाकर्मीले भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।
उनीहरुमाथि स्थानीयले कुटपिटसमेत गरेको छ । पक्राउ परेका भारतीयलाई जोगाउने क्रममा केही प्रहरी सामान्य घाइते भएका छन् । त्यसै बेला घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल र गोली बरामद गरेको थियो ।
पछि थप एकथान चाईनिज पेस्तोल बरामद भएको हो ।घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठ र सशस्त्र प्रहरीका गणपति बिक्रम हुमागाईंसमेत पुगेका छन् ।