प्र.म. प्रचण्डले नारायणकाजीलाई लिएर नेपाललाई फकाउन उनकै घरमा पुगे!
डाफेँ खबर, काठमाडौं।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
उनी नारायणकाजी श्रेष्ठलाई साथमा लिएर अध्यक्ष नेपाललाई भेट्न सोमबार साँझ नेपाल निवास कोटेश्वर पुगेका हुन्। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।
आज बिहान नेता नेपाललाई श्रेष्ठ एक्लैले भेटेका थिए। त्यसक्रममा प्रधानमन्त्रीको दूतका रुपमा कोटेश्वर पुगेका श्रेष्ठले नयाँ गठबन्धनमा सामेल हुन नेता नेपाललाई आग्रह गरेका थिए।
प्रधानमन्त्री दाहालले सोमबार नेपाली कांग्रेससँगको सहकार्य त्यागेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएपछि उनीहरुबीच पहिलो पटक भेट भएको हो। भेटमा प्रधानमन्त्री दाहालले कांग्रेसले असहयोग गरेका कारण एमालेसँग गठबन्धन गर्नुपरेको नेपाललाई बताएको स्रोतले बतायो।
प्रधानमन्त्रीले नयाँ सत्ता गठबन्धन बनाएपछि एकीकृत समाजवादीले आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको थियो।
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्षमा माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको समाजवादीको सचिवालय बैठकले मन्त्रीहरुलाई बिदा हुन निर्देशन दिएको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिएका थिए।
समाजवादीबाट सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषिमन्त्री वेदुराम भुसाल र राज्यमन्त्री नन्दा चपाईं सहभागी थिए।फेरिएको सत्ता गठबन्धनप्रति समाजवादीले ‘पर्ख र हेर’को नीति लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य ताडेर एमाले रास्वपासँग नयाँ सत्ता समिकरण बनाउने निर्णय लिएपछि एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवाहारका आधारमा निर्णय लिने जनाएको हो।
सचिवालय बैठकले नयाँ गठन्धनको ‘उद्देश्य, प्रक्रिया र संरचना’ प्रष्ट भएपछि मात्रै ठोस निर्णय लिने जनाएको छ। सबै कुराहरु जानकारीमा नआएकाले आफूहरु ‘पर्ख र हेर’कै अवस्थामा रहेको सम्मानित नेता झलनाथ खनालले बताए।
समाजवादीले तत्कालका लागि एमालेसहितको गठबन्धनप्रति मध्यमार्गी धारणा सार्वजनिक गरेको हो।बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरी अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ ।
नयाँ समीकरणको उदेश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भैसकेको छैन । तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण(दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नीतिहरू स्पष्ट पार्नेछ।’
यसअघि माओवादी केन्द्रका उपाध्यक्ष एवं निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालसँग भेटेर विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए।
अस्वस्थताका कारण घरमै आराम गरिरहेका अध्यक्ष नेपाललाई भेटेर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालका दूतका रुपमा नयाँ गठबन्धन बनाउनु पर्नाको बाध्यताबारे बताएका हुन्।
उनले कांग्रेसले असहयोग गरेका कारण एमालेसँग गठबन्धन गर्नु परेको नेपाललाई बताएको स्रोतले बतायो।
फाल्गुन २१, २०८० मा प्रकाशित