मान्छे धनी हुँदैमा र पद ठूलो हुँदैमा राम्रा हुदैनन्: नेमकिपा अध्यक्ष

डाँँफे खबर, काठमाडौं।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरू नै देशको बहुमत जनता भएको बताएका छन् । शुक्रबार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको बताएका हुन् ।
गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरूले राम्रो काम गर्नुपर्ने बताउँदै उनले पुरातात्विक र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनर्निर्माणमा राज्यका निकायहरूले चासो नदिएको बताए ।
‘मजदुर किसानहरू नै देशको बहुमत जनता हो । ठूला ठूला मानिसहरूको भ्रष्टाचारको विषयमा त पूर्ववक्ता साथीहरुले भनि हाल्नुभयो । पद ठूलो हुँदैमा, मान्छे धनी हुँदैमा उनीहरू राम्रा हुन्छन् भन्नेकुरा सत्य होइन । त्यसकारण तिनीहरुको गल्ती कमजोरीबाट सिकेर त्यस्तो काम नहोस् भन्नेकुरा मनमा राखौँ,’ उनले भने । अध्यक्ष बिजुक्छेले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए । उनले नयाँ पुस्ताले प्राचिक इतिहास र कलालाई संरक्षण गर्न आवश्यक रहेको बताए ।