मान्छे बचाउने होइन, देश बचाउने हो। नेता बचाउने होइन, जनता बचाउने हो: गृहमन्त्री
डाँफे खबर, काठमाडौं ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उनले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताए । ‘विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ ।
सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ,’ उनले भने, ‘सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरु एक ठाउँमा उभिएको अवस्था छ । ‘उनले अहिले दलका नेता होइन, देश बचाउनुपर्ने अवस्थामा पुगेको बताए । ‘अब मान्छे बचाउने होइन, देश बचाउने हो । नेता बचाउने होइन, जनता बचाउने हो,’ उनले भने ।
गृहमन्त्री लामिछानेले गलत गतिविधि गर्नेहरु कानुनको दायरामा आउने भन्दै साना, ठूला, चिल्ला, चिप्ला , खस्रा, सबै माछा पक्राउ गर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रङ्गीन बनोस् भनेर शुभकामाना समेत दिए ।
उनले होली पर्वसँगै सामाजिक सद्भाव सधैँ कायम होस् भन्दै मतदाताप्रति आफू सधैँ ऋणि रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाए । पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उनको भनाइ छ ।