Breaking Newsमुख्य

वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न अध्यागमन विभागलाई गृहमन्त्रीको निर्देशन

डाँफे खबर, काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन हेरेर देशको अवस्था कस्तो छ भन्ने कुरा विदेशीले थाहा पाउने भएकाले सुधार आवश्यक भएको बताएका छन् ।

मंगलबार अध्यागमन विभागको निरीक्षणमा गएका लामिछानेले अधिकारीहरूको ब्रिफिङ सुनेपछि अध्यागमनलाई सुधार गर्न निर्देशन पनि दिएका छन् ।अध्यागमनले वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न उपप्रधान तथा गृहमन्त्री लामिछानेले आग्रह गरेका थिए ।

‘विदेशीका लागि अध्यायमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ,’ लामिछानेले भनेका थिए । गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने नेपालीलाई अध्यागमनले सहानुभूतिसहितको व्यवहार गर्नुपर्ने बताएका थिए ।

‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह छ । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुहुन आग्रह गर्दछु’ लामिछानेले भनेका थिए । नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा पनि लामिछानेले जोड दिएका थिए ।

उनले अध्यागमनमा खटिने जनशक्तिलाई पर्याप्त तालिमको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै, कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन चुनौती भएपनि सुधारको प्रयास जारी राख्नुपर्ने बताए । अध्यागनमा केही खराब मान्छेका कारण इमानदार कर्मचारीले पनि दुःख पाउने गरेको लामिछानेको भनाइ थियो । ‘खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भनेका थिए, ‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न ।

भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न । दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला । ‘अध्यागमन विभाग कालिकास्थान, काठमाडौंमा भएको कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे गृहमन्त्री र सचिवलाई जानकारी गराएका थिए । 

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button