इलाम २ मा रास्वपाका मिलन लिम्बूले मनोनयन दर्ता गराए
डाँफे खबर, काठमाडौं ।
प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङ लिम्बूले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि रास्वपाबाट मनोनयन दर्ता गराउने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल, रास्वपाकी सचेतक निशा डाँगीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
इलाम २ को उपनिर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिम्बुले शनिबार ४ बजेपछि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउन रास्वपाका केन्द्रीय नेता र समर्थकले र्याली निकालेका थिए । पत्रकारितामा आबद्ध रहेका लिम्बु केही पहिले मात्रै उपनिर्वाचनका लागि राजनीतिमा सक्रिय भएका हुन् । उनलाई रास्वपाले उम्मेदवार बनाएको हो ।
२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता भएको हो ।