Breaking Newsविचारसमाज

“सभ्य समाजको बाधक दाइजो प्रथा: एक कुप्रथा” दिपेश कुमार जैसवाल

डाँफे खबर, काठमाडौं ।

सर्वप्रथम दाइजो प्रथा भनेको सामान्यतयाः विवाह पश्चात् बेहुलीको आमाबुबा अर्थात् माइतीपक्षले छोरी मार्फत बेहुला/केटा पक्षलाई दिएको धन, सम्पत्ति, नगद वा जिन्सी सामान भन्ने बुझिन्छ ।
उक्त दाइजो दिने र लिने प्रचलन दाइजो प्रथा हो । यो दाइजो दिने र लिने चलन नेपाली समाजमा पहिलेदेखि नै प्रचलनमा पाईन्छ । तर खासगरी नेपालको तराई/मधेसको क्षेत्रमा आज भोलि यसको प्रयोग दिन प्रतिदिन नकारात्मक रूपमा बढिरहेको छ । यही प्रथाका कारण समाजमा अन्य थुप्रै सामाजिक कुरीतिहरू पनि निम्तिएका छन् । कतिपय पुरुषले त दाइजो नल्याएको निहुँमा आफ्नी श्रीमतीलाई तथानाम गाली गर्ने, कुटपिट गर्ने र घरबाटै समेत निकाल्ने गरेका पनि छन् । अहिले त सम्बन्ध–बिच्छेद सामान्य नै भइसक्यो र अन्तमा गएर श्रीमानले श्रीमतीलाई हत्यासम्म गरेका घटनाहरू प्रशस्त पनि छन् ।
डा. सिके सिंह (सद्भावना दूत, बालविवाह एवं दाइजो उन्मूलन राष्ट्रिय अभियान नेपाल/नागरिक न्युज डटकम २०७३)का अनुसार तराई मधेसका कतिपय ठाउँमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रूपमा पनि लिइएको पाइन्छ । ‘जति धेरै पढाइ वा जागिरको कमाइ, उति धेरै दाइजो’ । सामान्यतयाः दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढङ्गले लिइएको मात्र पाइन्छ र सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भ्यानक र दर्दनाक छ ।
हाम्रो समाजमा हुने महिला हिंसा, हत्या, आत्महत्या जस्ता घटना भएका ज्वलन्त प्रमाण हुन् । यस्ता घटनाको प्रमुख कारक तत्व दाइजो प्रथा हुने गरेको सम्बन्धित अनुसन्धानले पुष्टि गरेको छ । अधिकांश विवाह (विशेषतः मधेसमा) बेहुली पक्षले बेहुला पक्षलाई के–के दिनुपर्छ भनेर पहिल्यै नै छिनोफानो हुन्छ । सर्त पुरा भए मात्र विवाह निश्चित हुन्छ । जुन कुरा विवाहको मगनीको बेलादेखि नै सुरु हुन्छ ।
कतिपय अवस्थामा विवाहअघि नै नगद आदि दिइसक्नुपर्ने हुन्छ । सर्त पूरा नहुँदा विवाह नै भाँडिएका घटना पनि बेला–बेलामा बाहिर आइरहन्छन् । तसर्थ यो प्रथा माइती पक्षलाई आर्थिक तथा मानसिक रूपमा अत्यन्त बोझिलो सावित हुन जान्छ । छोरा जन्मँदा खुसी हुने परिवारमा छोरीको आगमनले दुःखी हुन्छन् । त्यसैगरी दाइजोको तराजुमा सामग्रीसँगै तौलिएकी बेहुलीलाई म एक पुरूष समान छैन भन्ने संदेश दिइरहेको देखिन्छ । दाइजो प्रथाले बेहुली पक्षलाई दाइजोको रकम जुटाउन भ्रष्टाचार तथा हिंसा जस्ता कुकर्म गर्न बाध्य हुनुपरेको पनि विभिन्न घटनाक्रमले पुष्टि गरेको पाइन्छ ।

यहाँ हालसालै घटेको एउटा उदाहरण प्रस्तुत गर्न अनुमति चाहन्छु । गत जेठ ७ गते आरती साहको शव झुन्डिएको अवस्थामा फेला पर्यो । तर माइती पक्षले उनको आत्महत्या नभई पोस्टमार्टमको रिपोर्टअनुसार कुटपिट गरी हत्या भएको दाबी गर्दै असार १ गतेखि मृतककी आमालगायत परिवारका अन्य सदस्यहरू देहातबाट आएर राजधानीको माइतीघर मण्डलालगायतका स्थानहरूमा लामो समय आन्दोलन, धर्नामा उत्रिए । घटनाक्रम केलाउँदा प्रहरीले तयार पारेको मुचुल्कामा मृतकको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो भने गाला र शरीरका अन्य भागमा पनि विभिन्न घाउ भएको देखियो । तर पोस्टमार्टमको रिपोर्टमा भने गालामा चोट भएको र चोट भित्री भागसम्मै भएको उल्लेख थियो । यसरी प्रहरीको भुमिका पनि शंकास्पद देखिन्छ । घटनाको सुरुवातदेखि नै प्रहरी पीडकपक्षसँग मिलेर घटनालाई दबाउन खोजेको माइती पक्षको आरोप थियोे ।
प्रहरीले जबर्जस्ती अर्कै कागजमा हस्ताक्षर गराउन खोजेको, कर्तव्य ज्यानको घटनालाई आत्महत्या दुरूत्साहनमा परिणत गर्न खोजेको, घटनाको सम्बन्धमा निष्पक्ष अनुसन्धान नभएको र अस्पतालको भूमिका समेत शंकास्पद देखिएको भन्दै यसमा थप अनुसन्धान गर्न उनीहरूले आन्दोलनमा माग गर्दै बसिरहेका थिए । घटनाअघि श्रीमान पक्षकाले राम्रो मोटरसाइकल, थप दराज लगायत अन्य जिन्सी सामान दहेजको रूपमा मागिएको तर तत्कालै मोटरसाइकल दिन नसके पनि एउटा दराज दिने तयारी गरिरहेको भनेर माइती पक्षले धर्नाका क्रममा एउटा अनलाइन पत्रिकामा भनिएको समाचार बाहिर आयो । यद्यपि हालै बनेको गृहमन्त्री रवि लामिछानेले मध्यरातमा धर्नास्थलमै गएर गत फागुन २९ गते पीडित परिवारसँग आरतीको मृत्यु घटनाबारे अनुसन्धान गर्ने सहमति गरेका छन् र त्यो मुद्दा अझै अदालतमा विचाराधीन छ ।
यसरी घटनालाई छोटकरीमा हेर्दा दाइजोकै कारणले दबाउन यस्ता घटना(हरू) दिनानुदिन हाम्रो समाज (विशेषगरी तराई क्षेत्र) मा भइरहेका छन् र पछि घटनालाई दबाउन कसरी हर प्रयास गर्ने गरेको भनेर पनि देखिन्छ ।
अझ मलाई त व्यक्तिगत रूपमा के लाग्छ भने यो एकखालको ‘सती प्रथा’ हो, किनभने दाइजोकै निहुँमा तपाईंले देहाततिर गएर हेर्नुभयो/सुन्नुभयो भने कतै-कतै जिउँदै श्रीमतीलाई आगोसम्म लगाइएका घटनाहरू देखिन्छन्, जसले हाम्रो आङ नै सिरिङ्ग बनाउने गर्दछन् । चार वर्षअगाडि २०७६ मा महिला पुनःस्थापन केन्द्र (ओरेक) ले गरेको अध्ययनानुसार पछिल्ला ६ महिनामा २९ जना महिलामाथि दाइजोको कारणले विभिन्न स्वरूपमा हिंसा भएको पाइएको छ ।
संकलन गरिएका जम्मा ७२४ वटा महिला हिंसाका घटनाक्रममध्ये २९ वटा दाइजोसम्बन्धि घटनामा १६ जना महिलामाथि दाइजोका कारण कुटपिट भएको, ५ जना महिलामाथि मानसिक हिंसा भएको र ४ जनालाई घरनिकाला गरिएको पाइएको छ । यस्तै २ जनाको हत्या, १ जनाको हत्या प्रयास र १ जनाले आत्महत्या गर्न बाध्य भएको पाइएको छ । यसरी संकलित घटनाहरूमध्ये सबैभन्दा धेरै (४९ प्रतिशत) महिलाहरूमाथि घरेलु हिंसा भएको पाइएको छ ।
नेपालमा खासगरी तराई–मधेस क्षेत्रमा बेहुला पक्षबाट नै दाइजोको माग हुने गरेको छ । जसले गर्दा दाइजो, उपहार देखिएता पनि यसले कुप्रथाको रूप लिएको छ । नेपालीको सन्दर्भमा तराईदेखि हिमालसम्म विभिन्न नाममा दाइजो प्रथा सर्वत्र व्याप्त रहेको पाइन्छ । यो प्रथा मुख्यतः नेपालमा मात्र नभई भारतका केही भागमा चलिआएको दाइजोसम्बन्धि कुरीति हो । जसलाई मधेसमा ‘दहेज वा तिलक’ भनेर बुझिन्छ । जति पनि आर्थिक विपन्न किन नहोस् वा सम्पन्न परिवार, मधेसमा दाइजो लिन जरुरी ठानिन्छ ।
यसर्थ आज सबैले भन्नुपर्छ कि ‘दाइजो’ यो प्रथा होइन कि यो एक ‘कुप्रथा’ हो । यो एक सभ्य समाजको बाधक हो । यसको निवारणका लागि विभिन्न नियम कानुुन नबनेका पनि होइनन् । नेपालको संविधान २०७२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा समान हुनुपर्ने परिकल्पना गरेको छ । यसरी लैंगिक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रचलनमा ल्याइनु आफैंमा बिरोधाभाष हो । त्यसैले कानुनका पन्नाहरूमा मात्र सीमित नभई व्यवहारमै हामिले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आजको आवश्यकता हो ।

राज्यले लागु गरेको मुलुकी अपराधसंहिता ऐन २०७४ अनुसार दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई कडा कारवाहीको व्यवस्था गरेको छ । ऐनमा लेखिएअनुसार विवाहमा लेनदेन गर्न नहुने विषय उल्लेख छ । यसअघि दाइजो माग्नेविरुद्ध कारवाहीको व्यवस्था थिएन, ऐन लागु भइसकेको अवस्थामा दाइजो मागेमा वा लेनदेनको सर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐेनमा व्यवस्था छ । महिलालाई यातना दिई मर्न बाध्य बनाउनु पनि मार्नु बराबर हो । त्यसैले यस्तो अपराधमा संलग्नहरूलाई जन्मकैदको सजाय दिलाएर ज्यानमारा दाइजो प्रथा सदाका लागि अन्त्य गरिनु आवश्यक छ । यसलाई मधेसका विचारशील पुरुषहरूले पनि मनन गर्नु जरुरी छ । दोष दाइजो लिनेको मात्र होइन, दिनेको पनि हो । जबसम्म दिने हात रोकिदैनन्, तबसम्म माग्ने हात अगाडि बढिरहन्छन् ।
अन्त्यमा, आजभोलि शिक्षा, संचार र चेतनाका कारण कता–कता दाइजो प्रथा पहिलाभन्दा केही मात्रामा घट्दो क्रममा सुनिन्छ । यसलाई पूर्णरूपले निर्मूल, समाधान गर्न सबै मानिसलाई (खासगरी तराई मधेसका) समुदाय–समुदायमा गएर शिक्षा, जनचेतनाका कार्यक्रमहरू प्रदान गर्नुपर्छ र समय–समयमा दाइजो प्रथाको विरुद्धमा छलफल कार्यक्रमको आयोजना गर्नुपर्छ । हुनत यसका लागि केही मात्रामा विभिन्न सामाजिक संघ–संस्थाहरूले बेला–बेला अभियान पनि चलाएको देखिन्छ । त्यति मात्र नभएर सरकारले पनि त्यसलाई रोकथाम गर्नका लागि बेला–बेला अभियान चलाउने गरेको पाइन्छ । त्यस्ता चेतनामूलक कार्यक्रमबाट केही हदसम्म समस्याको हल भएपनि मानिस स्वयंको मानसिकता परिवर्तन हुनुपर्ने देखिन्छ । यसर्थ आज हरेक सचेत नागरिकले दाइजो प्रथाले निम्त्याउने नकारात्मक पाटाहरूबारे संवेदनशील भएर मानसिक एवं सामाजिक परिवर्तनका लागि एक्यवद्धता जाहेर गर्नुपर्ने बेला आएको छ ।

No Article rating
0 Reviews
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  1. उत्साहित
  2. खुसी
  3. अचम्मित
  4. दुःखी
  5. आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button