Breaking Newsबिशेषसमाचार

कक्षा १२ को परीक्षा केन्द्र काठमाडौं जिल्लामा स्वचालित विधिबाट: शिक्षामन्त्री श्रेष्ठ

डाँफे खबर, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेर तोकिएको बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोले सो गुनासो सम्बोधन गर्न परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयर बनाइ पहिलो पटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) विधिबाट छानिएको हो। हरेक विद्यालयका परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्याको आधारमा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरको आधारमा दुरी निकालिएको थियो। विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो। एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ। एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकोमा पनि नपर्ने गरी व्यवस्था गरिएको छ।

विगतका वर्षहरूमा कुनै विद्यालयको कुनै परीक्षा केन्द्रमा केही समस्या परेको भनी गुनासो आएको ठाउँ केन्द्र नदोहोरिने गरी छनोट गरिएको छ। प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको छ। यो सफ्टवेयर र विधि ओपन सोर्स गरी ‘गिटहब’मा राखिएको छ । ओपन सोर्सको मान्यता अनुरूप प्रक्रिया पारदर्शी रूपमा राखिएको यसलाई अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन समेत आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button