संसदमा कसलाई बोल्न दिने र नदिने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो? : गृहमन्त्री
डाँफे खबर, काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेसलाई प्रश्न गरेका हुन् ।
‘आश्चर्यको विषय आफूलाई लोकतान्त्रिक भन्ने दलले सदनमा सांसदलाई बोल्न दिने कि नदिने भन्ने निर्णय आफ्नो दलको निर्णयबाट गर्ने रहेछ । कांग्रेसले सदनमा अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गर्यो भन्नेजस्ता विषय सुनियो । त्यस्तो निर्णय भएछ । त्यो लोकतन्त्रको कुन अभ्यास हो ?,’ लामिछानेले भने ।
लामिछानेले आफू सहकारीको संचालक र सदस्य केही पनि नभएको दाबी गरेका छन् । उनले गोर्खा मिडियाको एमडी हुँदाका बखत निर्णय गराएर सहकारीको रकम नल्याएको बताए । उनले सहकारीको रकम ठगीमा आफ्नो संलग्नता नभएको बताए । कांग्रेस सरकारमा हुँदा आफूविरुद्ध तथ्य खोज्नका लागि बल लगाएको तर नसकेको लामिछानेले बताए ।