भारी वर्षाले मेयर बालेनको कार्यालय रहेको राष्ट्रिय सभा गृह डुबानमा

डाँफे खबर, काठमाडौं ।
बुधबार रातिको वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ । बुधबार राति भएको वर्षाका कारण सभागृह डुबानमा परेको छ ।
सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ.एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुबानमा परेको हो । केही दिनअघि परेको वर्षाका कारण काठमाडौंको वागमती, विष्णुमती तथा धोविखोला आसपासका क्षेत्र डुबानमा परेका थिए ।
काठमाडौं महानगरपालिकाका प्रमुृख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वको टोलीले डुबानको अनुगमन पनि गरेको छ । हरेक वर्षायाममा घण्टाघर, रत्नपार्कदेखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग करोडौ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला विस्थापित गरी ह्युम पाइप बिछ्याएका कारण ठूलो भेल सभागृहभित्र प्रवेश गरेको हो ।
त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लब तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनःनिर्माण गर्दैगर्दा पश्चिम तर्फको ढलको मंगलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह डुबानमा परेको बताइएको छ । सभागृह डुबानमा परेपछि मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोल सभागृहमा रहेको कार्यालय आएका छैनन् । मेट्रो रेडियो प्रशारण समेत प्रभावित बनेको छ ।