अनाधिकृत सामाजिक संंजालद्वारा चरित्रहत्या गर्नेलाई कार्वाही गर्न डंगोलको आग्रह

डाँफे खबर, काठमाडौं ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका अनाधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न साइबर ब्युरोलाई पुनः आग्रह गरेकी छन् । यस अघि पनि त्यस्ता पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामाग्री प्रकाशन भैरहेको भन्दै डंगोलको सचिवालयले पुन ब्युरोलाई आग्रह गर्दै पत्र लेखेको हो ।
मिति २०८१ जेठ १३ र असार २५ गते केही फेसबुक पेजहरुलाई बन्द गर्न पत्राचार गरेको तर अहिले पनि ती सामाजिक सञ्जाल (फेसबुक पेजहरु) प्रयोगमै रहेको डंगोलले भनेकी छन् । ‘एआई प्रविधिबाट फोटो तथा भिडियो एनिमेशन गरी सामाजिक सञ्जालहरुमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडियो, फोटो तथा समाचारहरु हाटाइदिनुहुन र त्यस्ता गैरकानुनी ढंगबाट समाजमा गलत गतिविधि गर्नेहरुलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पुनः अनुरोध गर्दछु,’ डंगोलका सचिवालयद्वारा जारी विज्ञप्तिमा छ ।
उपप्रमुख डंगोलले पनि अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत महिला दिदी–बहिनीहरुको चरित्रहत्या गर्ने, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि मौलाएको भन्दै त्यस्ता पेजहरुको निगरानी गर्न र बन्द गराउन आग्रह गरेको जानकारी दिइन् ।
‘अनधिकृत तरिकाले खोलिएका पेजहरुमार्फत समाजमा वैरभाव फैलाउने, सामाजिक सद्भाव भड्काउने, महिला दिदी–बहिनीहरुको चरित्रहत्या गर्ने जस्ता कार्यहरु बढ्दै गएका छन्,’ उनले भनिन्, ‘मेरै सन्दर्भमा पनि यस्ता खालका पेजहरु प्रविधिको दुष्प्रयोग गरेर चरित्रहत्या गर्ने कार्यहरु भैरहेका छन् । यस्ता कुरालाई नियन्त्रण नगर्ने हो भने आम महिला दिदी–बहिनीहरुले बढ्दो प्रविधिको प्रयोगसँगै असुरक्षित महशुस गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता गविविधिहरुलाई नियन्त्रण गर्नुपर्छ भनेर मैले सार्वजनिक मञ्चहरुमा पनि भन्दै आएको छु ।’