होस्टेलमा मानसिक टर्चर दिएपछि जिल्ला प्रशासनद्वारा ३ लाख जरिवानाका साथै होस्टेल सिल

डाँफे खबर, काठमाडौं ।
काठमाडौंको बालकुमारीस्थित ‘न्यु फेमिली गर्ल्स होस्टेल’मा खानामा किरा भेटिएपछि आवाज उठाउने छात्रामाथि सञ्चालक र वार्डेनले अ’भद्र व्यवहार र मानसिक यातना दिएको घटना सार्वजनिक भएको छ।
खानामा किरा भेटिएपछि गुनासो गर्न पुगेकी छात्रालाई सुधार गर्नुको सट्टा सञ्चालक र वार्डेनले कोठामै पुगेर बेडमा राखी थर्काएका थिए। त्यसका साथै, मधेसी समुदायकी ती नेपाली छात्राले हिन्दी भाषा बोलेको निहुँमा “इन्डियन” भन्दै क्षेत्रीय विभेद र हेपेर अत्याधिक मानसिक यातना (टर्चर) दिइएको पीडित छात्राले जनाएकी छन्।
घिनलाग्दो र अस्वस्थकर खाना खुवाएको तथा विरोध गर्दा छात्रामाथि अभद्र व्यवहार र जातीय/क्षेत्रीय विभेदपूर्ण यातना दिएको भन्दै चौतर्फी विरोध भएपछि प्रशासनले कदम चालेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले उक्त होस्टेलमा अनुगमन गरी तत्कालका लागि होस्टेल सिल गर्नुका साथै सञ्चालकलाई ३ लाख रुपैयाँ जरिवाना गराएको छ।